काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ । भारतले तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली दक्षिण अफ्रिकालाई ७८ रनले हराउँदै तीन खेलको शृङ्खला २-१ ले जितेको हो ।
यसअघि पहिलो एकदिवसीय खेलमा भारत आठ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने घरेलु टोली दक्षिण अफ्रिका आठ विकेटलेि विजयी भएको थियो । पर्लमा खेलिएको अन्तिम खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भ्रमणकारी टोली भारतले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाले भने ४५.५ ओभरमा अलआउट हुनुअघि दुई सय १८ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको भारतका लागि सन्जु सामसनले सतकीय पाली खेले । उनले एक सय आठ रन बनाए । उनले एक सय १४ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काएका थिए ।
तीलक वर्माले पनि अर्धसतकीय पाली खेले । उनले ५२ रन बनाए । उनले ७७ बलको सामना गरी एक छक्का र पाँच चौका हिर्काए । रिंकु सिंहले ३८ रन जोडे । भारतीय टोलीले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो ।
दक्षिण अफ्रिकाका बलर बिउरन हेनड्रिक्सले तीन विकेट लिए । जवाफी ब्याटिङमा ओर्लिएको दक्षिण अफ्रिकाका लागि ओपनर टोनी डी जर्जीले ८१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले ८७ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काए ।
प्रकाशित मिति २०८० पुस ६ गते शुक्रबार १०:१४