सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छ : उपराष्ट्रपति

सार्वजनिक प्रसारण संस्थाले सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्छ : उपराष्ट्रपति

Nepal Edit

@Nepaledit.com

२०८२ माघ १८ गते शनिवार ०४:३२

काठमाडौं ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, ‘डिजिटल प्लेटफर्म’ र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहको बताएका छन् । सार्वजनिक...

काठमाडौं ।उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक सेवा प्रसारण संस्थाले नयाँ प्रविधि, ‘डिजिटल प्लेटफर्म’ र बढ्दो जनअपेक्षालाई आत्मसात् गर्दै प्रसारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउन आवश्यक रहको बताएका छन् ।
सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतको नेपाल टेलिभिजनको ४१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष समारोहमा उनले डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुति र प्रविधिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको बताए ।
‘परम्परागत रेडियो वा टेलिभिजनमा सीमित नभई डिजिटल माध्यममार्फत जनतासम्म पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्याउने अवसर पनि हाे’, उपराष्ट्रपति यादवले भने, ‘सरकारी सञ्चारमाध्यमको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक, शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने हो ।’
नेपाल टेलिभिजन र रेडियो नेपालले राष्ट्रिय एकता, सामाजिक सद्भाव, सांस्कृतिक विविधता र लोकतान्त्रिक मूल्यहरूको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भने, ‘हामी सबै मिलेर सार्वजनिक सेवा प्रसारणलाई अझ सबल, प्रभावकारी र जनमुखी बनाउन योगदान गरौँ ।’
उनले राष्ट्रको आवाजलाई विश्वभर पुर्याउने, नागरिकलाई सशक्त बनाउने र समृद्ध नेपाल निर्माणमा सहायक बन्ने सामूहिक जिम्मेवारी पूरा गर्न आह्वान गरे ।
प्रकाशित मिति २०८२ माघ १८ गते शनिवार ०४:३२
हजुरको प्रतिक्रिया