काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र लागु गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकले सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णय भएकोमा तत्कालका लागि स्थगित गरेको हो ।
सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय परिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
उनले भनिन्, ‘सामाजिक सुरक्षासम्बन्धी सेवा प्रदान गर्न राष्ट्रिय परिचय पत्र लागु गर्ने निर्णय भएकोमा मुलुकको विभिन्न स्थानमा भएको बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउन असहज हुने भएकाले तत्कालका लागि लागु नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय भयो ।’
सरकारले स्थानीय तह, राजश्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका-२०८१ स्वीकृत गर्ने निर्णय गरेको छ । सरकारी कोषको नगद व्यवस्थापन सम्बन्धि कार्यविधि २०८१ स्वीकृत गर्ने, मन्त्रिपरिषदको २०८० माघ १८ को निर्णयअनुसार गठित कार्यदलले पेश गरेको फौजदारी न्याय तथा प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१ सार्वजनिक गर्ने निर्णय पनि भएको छ ।
प्रकाशित मिति २०८१ असार २८ गते बिहिबार ०७:०९