ग्लोबल आइएमई बैंकले अधिकृत पूँजी ५० अर्ब पुर्‍याउने

ग्लोबल आइएमई बैंकले अधिकृत पूँजी ५० अर्ब पुर्‍याउने

Nepal Edit

@Nepaledit.com

२०७९ मङ्सिर २३ गते शुक्रबार ०८:४०

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेड एकापसमा गाभिने (मर्जर) सम्बन्धी अन्तिम स्वीकृति प्रदान गर्दै ग्लोबल आइएमई बैंकको १६औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने गाभिने (मर्र्जर) सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी सर्वसम्मतरुपमा पारित गरेको हो ।

गाभिने प्रयोजनका लागि मूल्याङ्कनकर्ताबाट प्राप्त चलरअचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदन (डिडिए) का आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात एक बराबर एक रहने गरी स्वीकृत गरेको छ । साधारणसभाले बैकको अधिकृत पूँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्तावलाई समेत पारित गरेको छ ।

साधारणसभामा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नाका साथै आर्थिक वर्ष २०७८/७९ को कूल मुनाफाबाट बैंकले आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको तीन प्रतिशत बोनस सेयर र १० दशमलव छ प्रतिशत नगद लाभांश गरी जम्मा १३ दशमलव ६ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा सञ्चालन मुनाफा सात अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा चार अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए । उनले बैंकले आगामी दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए ।

आव २०७८/७९ मा बैंकको खुद ब्याज आम्दानीतर्फ गत वर्षभन्दा एक अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२ दशमलव पाँच नौ प्रतिशतले वृद्धि भई चार अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ । हाल बैंकले दुई खर्ब ८९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप सङ्कलन गर्नाका साथै दुई खर्ब ७३ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति २०७९ मङ्सिर २३ गते शुक्रबार ०८:४०
हजुरको प्रतिक्रिया