यस्ता छन् सर्वदलीय बैठकका निर्णय

यस्ता छन् सर्वदलीय बैठकका निर्णय

Nepal Edit

@Nepaledit.com

२०८१ असोज १३ गते आईतबार ०५:३१

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।   कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाको...

काठमाडौं । सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

 

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परी प्रभावित भएकाको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको हो ।

 

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रकृया अगाडि बढाउने छ । अविरल बर्षासँगै आएको बाढी र पहिरोका कारण १५१ जनाको मृत्यु भएको छ भने ५६ जना हराइरहेका छन् । बाढीका कारण भएको क्षतिको विवरण संकलन भइरहेको छ ।

 

राजमार्गमा अलपत्र यात्रुलाई जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा गन्तव्यमा पुर्‍याउने पनि निर्णय भएको छ ।राजधानीलाई बाँकी भू-भागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने पनि निर्णय छ ।

 

ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आर्पूति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने पनि बैठकको निर्णय छ ।

 

साथै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत अत्यावश्यक दैनिक उपभोग्यका सामानहरु सूपथ मूल्यमा सजिलैसँग प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने पनि बैठकको निर्णय छ ।

 

बाढीका कारण क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरि पुनर्निर्माणका लागि आवश्यक प्रकृया अघि बढाउने पनि सर्वदलीय बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति २०८१ असोज १३ गते आईतबार ०५:३१
हजुरको प्रतिक्रिया