काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम रहेको बताए ।
कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा पुगेका छन् । बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको कार्यक्रम सकेर काठमाडौं आएका हुन् । अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन् ।
बुधबार १०:३० बजे प्रधानमन्त्रीसँग द्वारिका होटेलमा भेटर्ताको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्रीले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति २०८१ बैशाख ११ गते मङ्गलबार ०४:२५