काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सञ्चालनमा रहेकाले नेपाली जनतालाई शिरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीको निरीक्षण भ्रमणपछि उनले नेपालको संविधानले नै राज्यशत्तिको मुल श्रोत र सार्वभौमसत्ता नेपाली जनतामा निहित गरेको भन्दै जनताको मन दुख्ने कुनै व्यवहार र काम कसैले पनि गर्न नहुने बताए । उपप्रधानमन्त्री खड्काले राज्यका सबै निकायले जनतालाई मन नपर्ने वा जनताको आत्मसम्मानमा चोट पुग्ने कुनैपनि काम गर्नु नहुने बताए ।
राजनीतिकर्मी, निजामती कर्मचारी, सेना, प्रहरी लगायत सबै राष्ट्रसेवकले जनतालाई पहिलो सम्मान दिएर काम गरे आम नागरिकले पनि अपनत्वको भाव देखाउने भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा नागरिक भन्दा ठूलो अरू कोही पनि नभएको बताए ।
निरीक्षण भ्रमण कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मा सहितका अधिकारी सहभागी रहेका थिए ।
प्रकाशित मिति २०८० माघ १५ गते सोमबार ०९:४४