काठमाडौं । काठमाडौं महानगरपालिकाले पार्किङ हटाएपछि न्युरोड क्षेत्रका व्यवसायी आक्रोशित बनेका छन् । महानगरपालिकाले अवैज्ञानिक ढंगले पार्किङ हटाउने निर्णय गरेर आफूहरुलाई समस्यामा पार्ने काम गरेको व्यवयासीको गुनासो छ ।
न्युरोडको पार्किङ पुरानो बसपार्कमा कायम गर्ने निर्णयले मन्दीको व्यापारमा थप मन्दी उत्पन्न हुने व्यवसायीको भनाइ छ । पार्किङ गर्न नदिने निर्णयले व्यावसाय चौपट हुने भन्दै उनीहरुले सटर बन्द गर्ने घोषणा गरेका छन् । जसअनुसार कतिपय व्यवयासीले सटर-पसल बन्द गरेर सडकमा आउन सुरु गरिरहेका छन् ।
न्युरोड क्षेत्रको कालोपत्रे सडकमा पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले मंगलबार बिहानैदेखि कडाइ गर्न थालेको छ । जसअनुसार मंगलबार बिहान विहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकल नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको महानगरको भनाइ छ । पार्किङ निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ’ का संकेत चिह्न राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी पनि गराउने गरेको छ ।
यसअघि दरबारमार्ग क्षेत्रमा पनि व्यवसायीहरुले यसैगरी महानगरविरुद्ध प्रदर्शन गरेपनि महानगरले निर्णय भने सच्याएको थिएन ।
प्रकाशित मिति २०८० माघ ९ गते मङ्गलबार १२:४४