काठमाडौं । विद्यालय शिक्षा विधेयकमा छलफल गर्न संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यार्थी संगठनलाई बोलाएको छ ।
आइतबार बिहान साढे ११ बजे बस्ने बैठकमा विभिन्न विद्यार्थी संघ-संगठनसँग छलफल गर्ने सूचना संसद् सचिवालयले जारी गरेको छ ।
समितिले यसअघि शिक्षक, कर्मचारी, विद्यालय सञ्चालक, पाठ्यक्रम विकास केन्द्रका अधिकारी तथा अभिभावक संघका पदाधिकारीलाई बोलाएर विधयेकमाथि छलफल गरेको थियो ।
यस्तै प्रतिनिधिसभा अन्तरगत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा आज गुठी पीडित मोही किसानको समस्या तथा गुठीसम्बन्धी कानून लगायतका विषयमा छलफल हुने भएको छ ।
बिहान ११ बजे बस्ने बैठकमा छलफलका लागि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री, मन्त्रालयका सचिवका साथै कानून, न्याय तथा संसदीय मामिलामन्त्री र सचिवलाई बोलाइएको छ ।
बिहान ११ बजे बस्ने राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण संवर्धनमा सामुदायिक वन उपभोक्ता महासंघको भूमिकालगायत विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
प्रकाशित मिति २०८० पुस २९ गते आईतबार ०९:५४