काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरेको छ ।
आयोगले आइतबार सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार दुई हजार ४७ मतदाता रहेका छन् । जसमा पाँच सय ४९ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९८ जना पालिकाका प्रतिनिधि रहेका छन् ।
सबैभन्दा धेरै मतदाता भने मधेश प्रदेशमा रहेका छन् । मधेशमा प्रदेशसभा सदस्य १०७ जना र स्थानीय तहका प्रमुख र उपप्रमुख २६७ जना गरी कुल ३४७ जना मतदाता रहेका छन् ।
त्यस्तै कोशीमा ९३ जना प्रदेशसभा सदस्य र २७४ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३६७ जना मतदाता रहेका छन् ।बागमतीमा ११० जना प्रदेशसभा सदस्य र २३७ जना स्थानीय तहका जनप्रतिनिधि गरी ३४७ मतदाता छन् ।
गण्डकीमा ६० प्रदेशसभा सदस्य र १७० स्थानीय तहका जनप्रतिनिधि गरी २३०, लुम्बिनीमा ८७ प्रदेशसभा सदस्य र २१८ स्थानीय तहका जनप्रतिनिधि गरी ३०५ जना मतदाता छन् ।
कर्णालीमा ४० प्रदेश सभा सदस्य र एक सय ५६ पालिकाका जनप्रतिनिधि गरी एक सय ९६ जना तथा सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र एक सय ७६ पालिकाका जनप्रतिनिधि गरी दुई सय २८ जना मतदाता रहेका छन् ।
प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि भोली ९सोमबार० बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ ।
माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदैछ ।
प्रकाशित मिति २०८० पुस २२ गते आईतबार १०:०८