काठमाडौं । भारतीय विदेश मन्त्री एस.जयशंकर आज नेपाल भ्रमणमा आउँदै छन् ।
परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर आज बिहान १० बजे नेपाल आइपुग्ने कार्यक्रम रहेको छ । बैठकमा नेपालको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतको नेतृत्व विदेशमन्त्री जयशंकरले गर्नेछन् ।
प्रधानमन्त्री पुषपकमल दाहालको भारत भ्रमणका वेला ऊसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा बैठकमा हस्ताक्षर हुनेछ । १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी नेपाल-भारतबीच बिहीबार सम्झौता हुने जनाइएको छ ।
यस्तै १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन गर्ने तयारी भएको छ ।
नेपाल-भारत संयुक्त आयोग दुई देशबीच स्थापना गरिएका संयन्त्रमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । संयुक्त आयोगको बैठकमा नेपाल-भारत बीचका सम्पूर्ण आयाममा छलफल गरिन्छ ।
सन् १९८७ मा स्थापना गरिएको नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठक भारतको नयाँदिल्लीमा सन् २०२१ जनवरीको दोस्रो साता भएको थियो । संयुक्त आयोगको बैठक आलोपालो आयोजना गर्ने गरिएको छ ।
प्रकाशित मिति २०८० पुस १९ गते बिहिबार ०८:५९