काठमाडौं । सार्वजनिक लेखा समितिले टेरामक्स प्रविधि खरिदसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया यथास्थितिमा राख्दै शिघ्र अनुसन्धानको निष्कर्षमा पुग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।
सार्वजनिक लेखा समितिको बुधबार बसेको बैठकले टेरामक्स खरिद प्रक्रियामा गडबडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रियालाई निष्कर्षमा पुर्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको हो । समितिले यसको अनुसन्धानको प्रगति विवरण हरेक ३० दिनमा समितिलाई बुझाउन पनि भनेको छ ।
समितिले अधिकारको दुरुपयोग भएको देखिएमा र राज्यलाई हानि नोक्सानी हुनेगरी काम भएको पाइएमा सम्बन्धितलाई हदैसम्मको कारबाहीका लागि माग दाबीसहित कानून बमोजिम प्राथमिकताका साथ अभियोजन प्रक्रियामा लैजान आयोगलाई निर्देशन दिएको छ ।
समितिले टेरामक्स खरिद प्रक्रियामा शर्तहरु टेण्डरको दौरानमा पटक-पटक फेरिएको उल्लेख गरेको छ । तत्कालीन मन्त्रालयका सचिवालयका सदस्यहरु नै टेरामक्स प्रविधिको बजार व्यवस्थापक रहेको देखिएको निष्कर्ष समितिले निकालेको छ ।
प्रकाशित मिति २०८० पुस १२ गते बिहिबार ११:५९