काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके आफू पदमा बसिरहनुको औचित्य नहुने बताएका छन् ।
सरकारको एक वर्ष पूरा गरेको अवसरमा आज सिंहदरबारस्थित आफ्नै कार्यालयबाट राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यक्षमतामा कमजोर देखिए आफूले पनि पद ओगटेर बस्नुको औचित्य नहुने बताएका हुन् ।
‘कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन । छाडिदिनुपर्छ’, उनले भने, ‘यो मैले अरूलाई दिएको उपदेश मात्र होइन । आफैँसँग गरेको वाचा पनि हो। देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद ओगटिरहन जरूरी छैन ।’
उनले आफूहरूलाई असफल हुने छुट नरहेको भन्दै कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई पनि माफ दिने अवस्था र मनस्थितिमा नरहेको बताए ।
संघीयतालाई वास्तविक रूपमा नै कार्यान्वयन गर्न प्रतिबद्ध र दृढ रहेको भन्दै प्रधानमन्त्री दाहालले यसका लागि जरुरी कानून तुरुन्त ल्याउन तयार रहेको दाबी गरे ।
प्रकाशित मिति २०८० पुस १० गते मङ्गलबार ०९:२०