काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाको सबै अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरेको दाबी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उद्धार गरिएकाको उपचारका लागि काठमाडौंलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको बताए ।
बस्नेतले बैठकमा गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारी रूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी दिए । उनले छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन-कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय लिने जानकारी दिए ।
प्रकाशित मिति २०८० कार्तिक १९ गते आईतबार १०:५८