काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा शुक्रबार चीन भ्रमणमा जाँदै छन् । प्रधानसेनापति शर्मा आज बिहान ११ बजे चिनिया जनमुक्ति सेनाको निमन्त्रणामा चीन जान लागेका हुन् ।
कात्तिक २ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्माको चीन भ्रमण स्वीकृत गरेको थियो । चीनको बेइजिङमा कात्तिक १२ देखि १४ गतेसम्म सञ्चालन हुने दशौँ बेइजिङ स्याङ्सन फोरमको उद्घाटन समारोहमा प्रधानसेनापति सहभागी हुने कार्यक्रम तय भएको छ ।
चीनमा रहँदा शर्माले सैनिक सहायता, सैन्य तालिमलगायत विषयमा छलफल गर्ने बताइएको छ । नेपाली शन्ति मिसनका लागि हतियारलगायत मिसनलाई आवश्यक पर्ने सैन्य सामग्री चीनबाट खरिद गर्ने नेपाली सेनाले तयारी गरेको थियो ।
विभिन्न कारणले उक्त खरिद प्रक्रिया अगाडि बढेको छैन । प्रधानसेनापतिको चीन भ्रमणका वेला यो विषयमा समेत छलफल हुने स्रोतले बताएको छ । प्रधानसेनापति शर्मा कात्तिक १६ गते स्वदेश फर्किने छन् ।
प्रकाशित मिति २०८० कार्तिक १० गते शुक्रबार ०९:०१