काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।
तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको दाबी गरेका हुन् । उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमति गरेर पनि केपी ओलीले सो सहमति बालुवाटारबाट बाहिरिएपछि लत्त्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत बताए ।
अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरूले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको पनि पटक पटक दोहोर्याए । अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिए पनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताए ।
प्रकाशित मिति २०८० साउन १७ गते बुधबार ०८:५४