काठमाडौं । हनुमान ढोका परिसर भित्र अब सवारी साधन लैजान नपाइने भएको छ । काठमाडौं महानगरपालिकाले वसन्तपुर हनुमान ढोका परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउनको निम्ति सवारी साधन प्रवेशमा रोक लगाएको हो ।
मंगलबार बिहान महानगर प्रमुख बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वलाई गौरवसाथ देखाउन सक्ने र व्यावसायिकता अङ्गाल्न सक्ने प्राचीन मौलिकता को सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य बनाउनको लागि रोक लगाइएको जनाकारी दिएका छन् । उनले लेखेका छन्, ‘जहाँ दिनमा हजारौँ पर्यटकहरू आउने र लाखौँ आउन सक्ने सम्भावना छ । यिनीहरूको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ । यसैले हनुमान ढोका परिसर भित्र सवारी साधनहरूलाई निषेध गरिएको छ ।’
काठमाडौंको पहिचान भनेकै यहाँका सम्पदाहरू हो भन्दै हनुमान ढोका काठमाडौंको मुख्यरुपमा प्राचीन र ऐतिहासिक काली गढीको उदाहरण भएको प्रमुख शाहको भनाई थियो ।
प्रकाशित मिति २०८० असार २० गते बुधबार ०७:३३