काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सञ्चारमाध्यममा आएका कुराहरुलाई विश्वास नगरी सरकारका गतिविधिलाई विश्वास गर्न आग्रह गरेका छन् । मंगलबार प्रतिनिधि सभामा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री महतले आगामी आर्थिक वर्षको बजेट निर्माण र करका दरहरु हेरफेरमा कुनै घुसपैस नभएको भन्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘बजेटमा पारदर्शी नभएको, अनधिकृत व्यक्तिको प्रवेश लगायत विषयमा शंका गर्नुपर्दैन । बजेट निर्माणदेखि करका दरहरु हेरफेरमा आधिकारिक प्रतिनिधिहरुबाट स्वतन्त्रपूर्वक निर्णय भएको छ । इमाान्दारपूर्वक काम गर्छौं भनेर बसेका मन्छेलाई विश्वास नगर्ने, सञ्चारमाध्यमहरुले लेखेकै भरमा चलखेल भयो भन्न मिल्दैन । रामकृष्ण श्रेष्ठ जी २० औं वर्ष देखि यही काम गर्दै आएको, इमान्दार दक्ष, अनुभवी कर्मचारी हुनुहुँदो रहेछ । आधिकारिक व्यक्तिमा आधारित भएर निर्णय भएका दरहरु उनीहरुकै आदेशमा श्रेष्ठले टाइप गरेका मात्र हुन् । चलखेल भयो कि बिचौलियाको कुरा आएको छ । बिचौलियालाई मैले छेउछाउमा पनि आउन दिएको छैन ।’
आफूभन्दा अघिका अर्थमन्त्रीहरुले पनि उनलाई नै प्रयोग गर्दै आएकाले आफूले पनि सोही कुरा मानेको उनको दाबी छ । आधिकारिक व्यक्तिबाट पारदर्शी ढंगले काम भएको अर्थमन्त्री प्रकाशशरण महतले दाबी गरेका छन् ।
प्रकाशित मिति २०८० जेठ २३ गते मङ्गलबार ०६:२१