काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बुढामगरलाई आज विशेष सम्मान गरेका छन् ।
लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा विशेष समारोहको आयोजना गरी उनले सफल आरोही बुढामगरलाई बधाई तथा शुभकामना दिएका हुन् ।
‘तेह्र वर्षअघि गोर्खा सैनिकका रुपमा अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएपछि पनि आफ्नो कठोर परिश्रम, दृढ इच्छा शक्ति र जीवनमा केही गर्ने हुटहुटीले तपाईंलाई कीर्तिमानी बनाएको छ’, उपराष्ट्रपति यादवले भने ।
उपराष्ट्रपति यादवले पर्वतारोही बुढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा निर्विध्न जारी रहोस् भन्दै प्रशंसा गरे । उनले पर्वतारोही बुढामगरको उज्जवल भविष्यको कामना गर्दै सुख, शान्ति, समृद्धि, सुस्वाथ्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।
खुट्टा नहुँदाको प्रतिकूलतालाई चिर्दै कृत्रिम खुट्टाको प्रयोग गरी बुढामगरले विश्व कीर्तिमान कायम गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसबाट सम्पूर्ण नेपाली गौरवान्वित भएको बताए । ‘तपाईंका लगन, धैर्य र आत्मबल तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउने यस कीर्तिमानी कार्यको उच्च प्रशंसा गर्न चाहन्छु । यो सफलता अपाङ्गता भएका व्यक्तिका लागि प्रेरणाको स्रोत बन्न सकोस् ।’
उपराष्ट्रपति यादवले सगरमाथाको चुचुरोमा पुग्नु आफैँमा एउटा साहसिक कार्य भएको बताए । ‘तपाईंको यो ऐतिहासिक कार्यले अपाङ्गता भएका र विभिन्न कारणले अङ्गभङ्ग भएकालाई सधैँ उत्प्रेरित गरिरहने विश्वास मैले लिएको छु’, उनले भने ।
रोल्पाको थबाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
प्रकाशित मिति २०८० जेठ १२ गते शुक्रबार ०३:३५