काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्र्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ ।
रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन-२ मा सभापति लामिछाने, तनहुँ-१ मा डा वाग्ले र बारा-२ मा खरेललाई पार्टीका केन्द्रीय निर्वाचन आयोगका प्रमुख नारायणप्रसाद प्याकुरेलले उम्मेदवारको टिकट प्रदान गरे ।
यो अवसरमा सभापति लामिछानेले तीनै जना उम्मेदवार आगामी उपनिर्वाचनमा निर्वाचित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘निर्वाचित भएर हामी तीन भाइसँगै सांसदका रुपमा उभिनेछौँ ।’ सभापति लामिछानेले मुलुकको सेवा गर्न तयार क्षमतावान व्यक्तित्वहरु आफ्नो पार्टीबाट निर्वाचित हुने दाबीसमेत गरे । उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टी यो देशको सबैभन्दा ठूलो र सबैभन्दा लोकतान्त्रिक पार्टी भएर चाँडै नै खडा हुन्छ ।’
रास्वपाका उम्मेदवार डा स्वर्णिम वाग्लेले नयाँ राजनीतिक युगको सुरुआत गर्दै देश विकासका लागि एकजुट भएर उम्मेदवारी दिएको बताए । यस्तै अर्का उम्मेदवार रमेश खरेलले देश विकासका लागि आफूहरु एकजुट भएको बताए ।
प्रकाशित मिति २०७९ चैत १८ गते शनिवार ०९:३१