काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी-२० खेलमा वेष्ट इण्डिज ‘ए’ लाई ४ विकेटले हराएको छ ।
वेष्ट इण्डिज दिएकाे २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान रोहित ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेलेका छन् ।
नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले ४७ बलमा शतक हानेका थिए । उनको यो टी-२० करिअरको पहिलो शतक थियो ।
नेपाललाई अन्तिम ६ बलमा जित्नलाई ९ रन चाहिएको थियो । सुरुवाती दुई बलमा ओशान थोमसले प्रतिश जिसी र गुल्सन झालाई एकरएक रन दिएका थिए ।
तेस्रो बलमा गुल्सनले लङअफमा चौका हानेपछि ३ बलमा ३ रन चाहिएको थियो । उनले नै अर्को बलमा चौका हान्दै खेल जिताए । गुल्सन ९ र प्रतिश ५ रनमा नटआउट रहे ।
ओपनर अनिल शाह ५, कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरी १८ बलमा २ चौका र १ छक्कासहित २४ र विवेक यादव ७ रनमा आउट भए ।
वेष्ट इण्डिजका ओबेद म्याककोयले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । म्याथ्यु फर्ड २ र किमो पलले १ विकेट लिए ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिज ‘ए’ ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।
वेष्ट इण्डिज ‘ए’ का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रनको इनिङ खेले । ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए ।
प्रकाशित मिति २०८१ बैशाख १५ गते शनिवार ०५:२३