काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कानुन संशोधन गरेर सहकारीपीडितलाई न्याय दिने पहल सुरु गरिसकेको दाबी गरेका छन् ।
मंगलबार इलाम २ मा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले अहिले कानुनकै कारण सहकारीका ठगलाई कारबाही गर्न नसकिएको बताए । आफूले प्रधानमन्त्रीलाई जानकारी गराएर कानून संशोधन गरी सहकारीपीडितलाई न्याय दिने गरी अघि बढेको लामिछानेको भनाइ छ ।
‘कानूनमा आवश्यक संशोधन गरेर हाम्रो सक्रियतामा सरकारले सहकारी ठगी गरेर भागेकाको सम्पति रोक्का गरेर, तिनको सम्पति सबै बेचेर भए पनि बचतकर्ताको रकम तिर्न सुरु गर्नेछ’ उनले भने, ‘मैले यो कुराको जानकारी प्रधानमन्त्रीलाई पनि गराएको छु ।’
अर्काको नाममा सम्पत्ति राख्ने र कानूनबाट उन्मुक्ति पाउनेको सम्पत्ति जफत गरेर पीडितलाई नदिएसम्म आफू राजनीतिबाट नहराउने उनको भनाइ छ ।
आफ्नो पार्टी परिणाम ल्याउने गरी काम गर्न सरकारमा गएको भन्दै उनले काम गर्न नसकेको खण्डमा सरकारमा टाँसिएर नबस्ने बताए ।
प्रकाशित मिति २०८१ बैशाख ११ गते मङ्गलबार ०४:४५