काठमाडौं । टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गत आज नेपालले ब्याटिङ रोजेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उपाधिका लागि ओमानसँग हुने प्रतिस्पर्धामा ब्याटिङ रोजेको हो ।
नेपालले बलियो टोली युएईमाथि ८ विकेटको सहज जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो भने ओमानले बहराइनलाई १० विकेटले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो ।
नेपाललाई समूह चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै उपाधि जित्ने दाउमा छ । समूह चरणको खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
नेपाल र ओमानबीच ट्वेन्टी-ट्वेन्टी अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्ला तीन खेलमा जित निकाल्दा २ मा हार बेहोरेको छ । नेपालले गत वर्ष भएको विश्वकप छनोटका दुवै खेलमा ओमानलाई हराएको थियो ।
२०२२ को फेब्रुअरीमा भएका खेलमा नेपाल ९ विकेट र ३९ रनले विजयी भएको थियो । त्यसअघि २०२२ कै फेब्रुअरीमै भएको ट्वेन्टी-ट्वेन्टी सिरिजमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
नेपाल र ओमानबीच पहिलो ट्वेन्टी-ट्वेन्टी २०१९ को अक्टोबरमा भएको थियो। ओमानमा भएको खेलमा नेपालमाथि ओमानले ६ विकेटको जित निकालेको थियो ।
प्रकाशित मिति २०८० कार्तिक १९ गते आईतबार ११:०३