काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्ण रुपमा नि:शुल्क गर्नुपर्ने बताएका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले बिद्युतिय सवारी साधनको भन्सार पूर्ण रुपमा नि:शुल्क गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘मल कारखानको कुरा पनि हरायो । हाइड्रोजन उत्पादनको कुरा पनि हरायो । हामी खालि बिजुली कसरी भारतलाई जिम्मा लगाउने, त्यो पनि उत्पादन गरेको बिजुली जिम्मा लगाउने होइन खोलानाला नै लाउने । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको बेला पश्चिम सेती के के बुझाउनु भयो । अहिले फुकोट कर्णाली, अरुण तल्लो । हामीले भारतलाई विद्युत उत्पादन गर्न यि खोलाहरु जिम्मा दियौँ यो सम्झौता गयौँ भन्नेमा जहिलेपनि हामी गौरव गर्छौ । भारतले लगानी गरेन भने हाम्रोमा बिजुली उत्पादन नै हुँदैन । उत्पादन भयो भनेपनि खर्च गर्ने ठाउँ हुँदैन भन्छौँ । हामी किन मल कारखाना स्थापना गर्दैनौ रु किन हाइड्रोजनतर्फ जाने आँट गर्दैनौँ ?’
उनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताए । उनले बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको टिप्पणी गरेका छन् । उनले करको दर र दायरा जथाभावी रुपमा बढाउने काम गरिएको बताएका हुन् ।
प्रकाशित मिति २०८० जेठ २५ गते बिहिबार ०५:४०